काठमाडौं । नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले धनकुटा छथर जोरपाटी गाउँपालिका–१ घर भई दोलखा भिमेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुईजना बालिकाहरूको उद्दारसमेत गरेको छ ।
काठमाडौ महानगरपालिका–३२ जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा गेष्ट हाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं जडिबुटीबाट पक्राउ गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाईदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, शुरूमा वेटरको काममा लगाउने र केही समय पछी ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी भइरहेको व्यूरोले जनाएको छ ।




















