काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्व कर्मचारी तथा सुरक्षाकर्मीहरूले कार्यविधि विपरीत राखेका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बिहीवार एक विज्ञप्ति जारी गरी विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत सुरक्षाकर्मी राखेको भए तत्काल फिर्ता गर्न निर्देशन दिएका हुन् ।
उपप्रधान तथा गृहमन्त्रीका रूपमा रवि लामिछानेले जिम्मेवारी सम्हालेको दोस्रो दिन नै नियमविपरीत राखिएका सुरक्षाकर्मी फिर्ता गर्न भन्दै बोल्डु निर्देशन जारी भएको हो ।
‘कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।




















