काठमाडौं। कर्णालीमा सात दिन भित्र सरकार गठन गर्न आह्वान गरिएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश सरकार गठनका लागि यही पुस २७ गते सोमबार अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तीको लागि आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको आह्वान गरेको जारी विज्ञप्तिमा उल्लेख छ । यस प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलले एकल बहुमत प्राप्त गर्न नसकेकाले धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा सोभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ ।
यस प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस रहेको छ । कांग्रेसको जम्मा १४ जना सांसद रहेका छन् भने दोस्रोमा माओवादी केन्द्र छ । माओवादी केन्द्रको यस प्रदेशमा १३ जना सांसद रहेका छन् । त्यस्तै, तेस्रोमा १० जना सांसदसहित नेकपा (एमाले) रहेको छ ।
कर्णालीमा प्रदेश सरकार गठनका लागि २१ सांसद संख्या आवश्यक रहेको छ ।



















