पार्टी विभाजनपछि पहिलोपटक राष्ट्रपति कार्यालयमा नेपाल-ओलीबीच वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच दोहोरो कुराकानी भएको छ।

पार्टी विभाजनपछि दुई नेताबीच पहिलोपटक दोहोरो संवाद भएको हो। राष्ट्रपति कार्यालयमा हामीबीच विशेष संवाद केही भएन, सामान्य हालखबर सोधपुछ भयो। एक अर्काको हालचाल सोध्यौं, नेपालले भने।

संवादमा सरकारबारे कुनै कुराकानी नभएको नेपालले बताए। वर्तमान गठबन्धनमा सहभागितामा कुनै हतारो नरहेको उनले बताए। गठबन्धनमा सहभागिताका निम्ति कुनै हतारो छैन। हामी घटनाक्रमहरू नियालिरहेका छौ, उनले भने।

एमालेबाट विभाजन भएर २०७८ भदौ ९ मा एकीकृत समाजवादी गठन भएको थियो। संसद विघटनको सवालमा ओली(नेपालबीचको टकरावकै कारण पार्टी विभाजनको स्थितिमा पुगेको थियो।