तीन वर्षपछि थप विशेषतासहित पुनः सञ्चालनमा आयो भोजनगृह

कोरोना महामारीको समयमा बन्द भएको डिल्लीबजारस्थित भोजनगृह रेष्टुरेन्ट थप विशेषतासहित पुनः सञ्चालनमा आएको छ। २०५५ सालमा खुलेको भोजनगृह तीन वर्षपछि गत फागुनमा फेरि सञ्चालनमा आएको छ।

१०० वर्ष पुरानो भवनमा मौलिक, परम्परागत जातीय वेशभूषासहितको नृत्य र नेपाली खाना भोजनगृहको प्रमुख विशेषता हुन्।

भोजनगृह रहेको भवन जति पुरानो र ऐतिहासिक छ, भोजन गर्ने कक्ष पनि पुराना तथा ऐतिहासिक कलाकृतिबाट सजाइएको छ।भोजनगृहमा साँझ ७ देखि ९ बजेसम्म नेवारी, तामाङ सेलो, संगीनीलगायत नृत्य हेर्न र गीतबाट आनन्द लिन सकिन्छ ।

यहाँ बिहानको खाना र दिउँसो खाजा पनि खुवाइन्छ। तर बेलुकाको खानाको विशेष महत्व छ। एक पटकमा २०० जना बसेर खान र रमाइलो गर्न सकिन्छ। खाना खाइरहँदा छेवैमा आएर कलाकारले प्रस्तुति दिन्छन्।

कोरोनाअघि अतिथिलाई बस्न भ्याइनभ्याइ हुने गरेको भोजनगृह अब सोही लयमा फर्काउन प्रयास गरेको सञ्चालक भरत बस्नेतले जानकारी दिए ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा रहेको भवनको तीन तल्लामध्ये एक तल्लामा खान बस्न मिल्छ। अन्य तलामा जिर्णोद्धारको काम चलिरहेको छ।भोजनगृहमा सेमिनार, विवाहभोज, गुन्यूचोली, व्रतबन्ध पनि गर्न सकिने व्यवस्था रहेको सञ्चालक बस्नेतले जनाए।