प्रधानमन्त्री प्रचण्डद्धारा युवा सांसदलाई मन्त्री बनाउने योजना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा सांसदलाई मन्त्री बनाउने योजना बनाएका छन्।
३ स्वतन्त्रसहित ७ दलबाट १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका उनले आफ्नो कार्यकाल स्वर्णिम बनाउन अनुभवी नेताहरुको मुख्य सहयोग लिन चाहेपछि युवा सांसदलाई सरकारमा लिन खोजेका हुन्।

धेरै दल र सांसदको समर्थन रहेकाले माओवादीले कति मन्त्रालय पाउँछ यकिन छैन, तर, पाउने सबै मन्त्रालयमा यसपटक युवा नै मन्त्री हुने सम्भावना रहेको उनीनिकट स्रोतले नेपालखबरलाई बतायो।

प्रधानमन्त्री प्रचण्डले सल्लाहकार समूहमा अनुभवी र परिपक्क नेताको सहयोग लिन चाहेका छन्।कम्युनिष्ट नेतामा सबैभन्दा बढी प्रधानमन्त्री बन्ने अवसर पाएका प्रचण्ड यो तेस्रो कार्यकाललाई स्वर्णिम बनाउन चाहेका छन्।

‘प्रधानमन्त्रीले यसपटक मन्त्रीहरुमा युवा सांसद लिने योजना बनाउनुभएको छ,’ सचिवालयका एक सदस्यले भने, ‘कार्यकाललाई सफल बनाउने उहाँको चाहना छ।’