काठमाडौं । मधेस प्रदेशका २ जना माओवादी सांसदलाई शपथमा सर्वोच्च अदालतले रोक लगाएको छ । महोत्तरी रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्चले सांसदको काम कारबाहीमा रोक लगाएको संसद् सचिवालयले जनाएको छ ।
माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको र सर्वोच्चले तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको सचिवालयले जनाएको छ ।
मधेस प्रदेशमा माओवादीबाट ४ जना समानुपातिकमा निर्वाचित भएका थिए । निर्वाचित हुनेमा धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास (पहाडी) र महोत्तरीबाट मोहम्मद रजी हैदर निर्वाचित भएका हुन् । सुनिता र माला मधेसी समूह, शारदा दलित र रजी मुस्लिम समूहबाट निर्वाचित भएका हुन् ।
समानुपातिकको बन्दसूचीमा रहेकी खचान्जी महतो नुनियाले आफूहरूभन्दा तल रहेकालाई निर्वाचित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा मालाकुमारी र रजीको शपथमा रोक लगाउन माग गर्दै रिट दायर गरेकी थिइन् ।



















