काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगिरहँदा प्रमुख राजनीतिक दलहरूबीच नयाँ सरकार गठनका सन्दर्भमा गहन छलफल सुरु भएको छ । चुनावी परिणामको रुझानअनुसार त्रिशङ्कु संसद् बन्ने निश्चित देखिएपछि दलहरूभित्र सरकारको नेतृत्व र सहभागिताबारे आन्तरिक र बहुपक्षीय छलफल आरम्भ भएको हो ।
सत्ता साझेदार राजनीतिक दलका शीर्ष नेता नयाँ सरकार गठनका सन्दर्भमा गहन संवादमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच चुनावी परिणामको समीक्षासँगै नयाँ सरकार गठनबारे छलफल भएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सत्ता साझेदार दलका शीर्ष नेताहरू गठबन्धनलाई निरन्तरता दिन सहमत भएको र शीर्ष नेताहरू अब निरन्तर छलफलमा जुट्ने बताए ।
यसैगरी पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नयाँ सरकार गठन र गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको छ । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा दुई नेताको भेटमा उच्च समझदारीका साथ गठबन्धनलाई अघि बढाउने विषयमा संवाद भएको छ । नेता पौडेलले भने “माधवजी पनि गठबन्धनलाई निरन्तरता दिने र सरकार गठनका लागि छलफल अघि बढाउन सहमत हुनुहुन्छ ।” उनको अनुसार सरकारको नेतृत्व, मन्त्रिपरिषद्मा सहभागितासहित समसामयिक विषयमा पनि दुई नेताबीच छलफल भएको छ ।
सहमतिमै सरकारको नेतृत्व
कांग्रेस महामन्त्री गगनकुमार थापा र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धनभित्रको सहमतिकै आधारमा सरकार गठन हुने बताए । महामन्त्री थापाले भने, “निर्वाचनअघिको गठबन्धन जस्ताको तस्तै जान्छ । सरकार पनि गठबन्धन भित्रकै समझदारीमा बनाउने हो ।” उनले चुनावी परिणाम सोचेकोभन्दा केही कम आए पनि बहुमत पु(याउन अन्य राजनीतिक दल र स्वतन्त्र सांसदहरूसँग विभिन्न चरणमा छलफल भइरहेको बताए।
महासचिव गुरुङले सहमतीय सरकार गठनका लागि शीर्ष नेताहरूबीच छलफल सुरु भए पनि निर्वाचनको अन्तिम परिणाम आएपछि यस विषयमा औपचारिक निर्णयमा पुग्ने गरी परामर्श हुने बताए । उनले भने, “सबै परिणाम आएपछि आन्तरिक बैठक बस्छन् । गठबन्धनमा छलफल सुरु हुन्छ । अनि गठबन्धनले सरकार गठनको औपचारिक निर्णय गर्नेछ ।”
नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिकै आधारमा सरकार गठन गर्नुपर्नेमा आफ्नो पार्टीको जोड रहने बताए । उनले निर्वाचनको अन्तिम परिणाम आइसकेपछि सरकार गठनका विषयमा छलफल अघि बढ्ने बताए । उनले भने, “एउटा कुराचाहिँ तय हो, जनताले यस पटकको निर्वाचनबाट तीन दलहरू एकअर्कालाई निषेध गरेर होइन, मिलेर देश र जनताका लागि काम गर भनेर आदेश दिएका छन् ।”
‘कांग्रेसकै नेतृत्वमा सरकार’
महामन्त्री थापाले पहिलो दलको हैसियतमा कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए। उनले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय संसदीय दलले निर्णय गर्ने पनि बताए ।
उनले भने, “कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरामा कतै अल्मलिनुपर्ने अवस्था रहेन, यो स्वाभाविक छ । सरकार नेतृत्व कसले गर्ने भन्ने कुरा संसदीय दलमा भएको निर्वाचनपछि टुङ्गो लाग्छ ।”
कांग्रेसका सभापतिसमेत रहनुभएका प्रम देउवाको दाबी सरकारको नेतृत्वका लागि रहन्छ । पार्टी नेतृत्वको हैसियत र गठबन्धनलाई निरन्तरता दिएका प्रधानमन्त्री देउवाले पुनः सरकारको नेतृत्व गर्ने तयारी गरिरहेका छन् ।
कांग्रेस महामन्त्री थापाले पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने र विजयी भए प्रधानमन्त्रीको दाबी गर्ने घोषणा गरिसकेकका छन्।
वरिष्ठ नेता पौडेलसँगै पूर्वमहामन्त्रीद्वय डा. शशाङ्क कोइराला र प्रकाशमान सिंह तथा नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पदका लागि आकाङ्क्षा व्यक्त गर्नुभएको छ ।
‘प्रचण्डको दाबी स्वाभाविक’
माओवादी केन्द्रका महासचिव गुरुङले प्रधानमन्त्रीमा पार्टी अध्यक्ष प्रचण्डको दाबी स्वाभाविक रूपमा रहने बताए । उनले विचार, नीति र राजनीतिक लाइनका आधारमा प्रचण्डले सरकारको नेतृत्वमा दाबी गर्ने बताए ।
एमालेमा ओली सर्वसम्मत
एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्ने घोषणा चुनावअघि नै गरिसकेको छ । ‘मङ्सिर चार ओली सरकार’ नारा नै दिएर चुनावमा गएको एमालेमा उनलाई कुनै नेताले चुनौती दिने सम्भावना पनि छैन । उपाध्यक्ष नेम्वाङका अनुसार सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आएमा ओलीले नै नेतृत्व गर्नेछन् ।






















